Monday, July 30, 2012

“म”



थाहा छैन जीवन के हो ?
तर पनि बाँचिराछु
हजार पिडा लुकाएर
बनावटी हाँसिराछु

बसन्तको पल्लवसँगै
हराएको अतित त्यो
समयको वेगसँगै
कल्पनाको वाटिका भो

वाल्यकालमा हाँस्दै–खेल्दै
कोरेका ति लक्ष्यहरु
शिशिरको विहानीमा
झरेको त्यो पात भयो

संघर्ष नै जीवन रहेछ
लखौ जंघार तर्नुपर्ने
ऋभावले पछारिदा
उठि फेरि सर्नुपर्ने

गोधुलीको साँझसँगै
अस्ताएको जीवन मेरो
तिलस्मि यो प्रभातसँगै
फेरि उदाएर आयो

तिलस्मि यो प्रभातसँगै
फेरि उदाएर आयो .....।।


 “साथ”



निष्पट्ट त्यो अन्धकारमा
चाँदनी भई साथ दिए
खहरेको भेल भित्र
डुङगा बनी हात दिए
संघर्षको मैदानमा
लक्ष्य विराई अल्मलिदा
सत्य – सत्य सधैभरि
तिमीलाई आँट दिए
जीन्दगीका अनन्त ति
यात्राबिच थाकिसक्दा
मनको सानो मझेरीमा
तिमीलाई बास दिए

मनको सानो मझेरीमा
तिमीलाई बास दिए
तर,
तिमीले चिन्न सकिनौ ...




Wednesday, July 4, 2012

यात्रा संक्षेप


          आज एकदमै उदास छु । सल्लेरीमा कम्प्युटर इन्सटिच्युट चलाएर बसेको पनि साँढे २ महिना भइसकेछ । थाहा छैन किन यत्ति चाँडै समय वितिरहेछ । कक्षा १० मा पढ्दै गर्दा मेरो हात भाँचिएको थियो । अनि त्यही उपचारका लागि फाप्लु हस्पिटलमा शिविरको अवसर पारी आउदा डा. हेम लिम्बुले ल्यापटप चलाएको देख्दा मलाई अचम्म लागेको कुरा भर्खरै जस्तो मात्र लाग्छ । हुन त म एस.एल.सी दिनका लागि अन्तिम अवस्थामा पुगिसकेको भए पनि १३ वर्ष पूरा गरेर १४ बर्ष टेक्दै गरेको ठिटो नै थियो । आज सदरमुकाममा आफ्नै साथीभाई अनि आफन्तजनहरुसँग आफुले जानेका दुईचारवटा कुराहरु शेयर गर्न पाउनु कम्ति खुशीको कुरा होइन । समयको वेगसँगै जीवनभोगाईका क्रममा थोरै खुशीको अनुभुती यहाँ पाउछु म । सदरमुकामको बसाइले अलिकति भएपनि मेरो वावा–ममी अनि समाजको प्रतिष्ठा बढाइदिएको हो कि भन्ने कुराले पनि कता–कता मेरो नशा अनि रगतको कण–कणमा खुशीका तरङ्गहरु सल्बलाइरहेका छन् ।
          मोबाइलमा बजेको आलारामको टिङ–टिङ आवाजले विहानीको संकेत गरिरहेको छ । सल्लेरीको जाडो सँगै बाक्लो सिरकभित्रको न्यानोपन । तै पनि हत्तपत्त उठेर वेड मिलाउन थाले । आज त धनकुट्टाको यात्रा शुरु गर्नुपर्ने । लोकसेवा आयोगको लागि साथीहरुको गफकै भरमा कम्प्यूटर अपरेटरमा भिड्ने रहर जाग्यो । हुन त अरु साथीहरु नि कत्ति नै जान्ने छन् र भन्ने नलागेको भने पक्का होइन । आहा ! सानैमा सुनेको धरान, धनकुटा, भेडेटार पुग्छु । हेर्न पाउछु भन्ने विचारसँगै एकतमासले मेरो मन मस्तिष्क सताइराछ ।
          प्रभातको मिर्मिरे उषासँगै नुम्बुर हिमाल हाँसिरहेको छ । चाँदी झै टल्किरहेको छ । सल्लेरीदेखि पारीतिर देखिने रोसी, केरुङ अनि लोदिङतिरका डाँडाकाँडा अनि फागुन चैतका खडेरीले खङ्ग्रङ्ग सुकेका घाँसे फाँटहरु कम्ति लोभलाग्दा छैनन् । शितले निथ्रुक्क रुझेको सल्लेरी बजार । अनि त्यही भित्रको कुलुङ होटलको एउटा कोठाको झ्यालबाट यो सब रमणियता नियालिरहेको छु । लागिरहेको छ कि यो विचित्र संसार पनि गगनवाटिका भन्दा कम छैन । उडिरहेको एक हुल चराहरुसँगै मेरो मन पनि धरानतिर उडिरहेको छ । तर, खै किन हो कुन्नि आज मेरो सोलु छोड्न मनै छैन । मलाई किन आफ्नो जन्मभुमि एक्कासी यत्ति प्यारो लगिराछ । हिमशिखरबाट कलकल बग्ने चिसो पानी अनि शितल हावा किन छोड्न सकिराछुइन । नुम्बुर हिमालले त मलाई मोहनी नै लगाएको हुनुपर्छ । आज मेरो बाबा–ममी अनि सानी बहिनी चाँदनीलाई नभेटी थालिएको यात्राले कस्तो गन्तव्य देला र !
           जीपको हर्न बज्न थाल्यो । म पनि यात्राको लागि तयार भएँ । सँगैको विद्यार्थी साथीहरुले सफल यात्राको शुभकामना दिन थाले । धेरै साथीहरुले विहानै नभेटिएला भनेर हिजो नै औपचारिकता निभाइसकेका थिए । कुलुङ होटलकी दिदी अनि सानो फुच्चे भाञ्जो सविनसँग पनि छुट्टिदैछु । मलाई अबोध केटाकेटीको अति नै माया लाग्छ । अब भने गाडीले यात्राको संकेत दिइसकेको छ । कलेज जाँदा बोक्ने गरेको सानो झोलामा साथीहरु अनि आफ्नो गरेर ५÷७ वटा फर्म अनि एकसरो फेर्ने कपडा सिवाय केही छैन । जीपको अगाडी सिटमा बस्न पाएकोले अलि सन्तोषको सास लिएं । कारण पछाडीको सिटमा रिंगटा चल्ने धेरै सम्भावना रहन्थ्यो । हिजो सँगै यात्रा गर्ने सल्लाह गरेको साथी प्रताप पनि आइपुग्यो । बडो गजबको हुनुहुन्छ उहाँ । सोलु घर भए पनि प्राय काठमाण्डौमा बस्नुहुंदो रहेछ । आदरपूर्वक मैले दाई नै सम्बोधन गरिरहेको छु । अब भने विस्तारै गाडी गुड्न थाल्यो । गाडीभित्रका सबै यात्रुहरुले अबका यात्राहरुका बारेमा सोचिरहेका होलान् । कोही–कोही त पहिलोचोटी गाडी चढ्नेहरु पनि पक्कै होलान् । सबैसँग कुरा गरेर कहाँ साध्य हुन्छ र । रोडका दायाँ–बायाँ बाट धेरैले हाम्रै गाडीतिर हेरिरहेको छ । सायद उनीहरुलाई पनि एकोहोरो कामको बोझले थकित अनि शिथिल शरिरलाई मनोरम संसारको चौतारीमा बिसाउन चाहन्छन् । त्यसैले कल्पनामा डुबिरहेको हुनुपर्छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरी गाडी पुगेको २ बर्ष मात्र भयो । कच्ची बाटोमा जीप आफ्नै रफ्तारमा कुदिरहेको छ । पहाडको बाटो कहिले वेशितिर त कहिले पहाडको टाकुरै टाकुरा । सबै यात्रुहरु आँखैले नभ्याउने टाढा–टाढाका मनमोहक दृश्यहरु नियाल्नमा व्यस्त छन् । अनि सारा जीवनका दुुःख, पिडा, वेदना लाई मलम लगाएर शितल बनाइदिने आभा मुकारुङ दिदी अनि नामै नचिनेको दाईको आवाजको गीत “ हिउचुलीको चिसो पानी दुईहातले पिउला हजुर....यति राम्रो लर्के जोवन तै मोरालाइृ दिउला हजुर” बोलको गीतले झल्याक–झुलुक देखिएका अनि भेटिएका मोरीहरको पनि सम्झना दिलाईराछ । के गर्ने उमेर नै प¥यो १६ भन्दा २ वर्ष वढी । थाहै नपाई गाडी आखलढुङ्गा आइपुगेछ । कस्तो झ्याउ अल्छीलाग्दो । टीकट काटेर अर्काे गाडीमा बढी यात्राको लागि चढ्नुपर्ने । फेरी टीकट पनि कहाँ भनेको बेला पाउनु । दिनभरीको यात्रा उभिएर पनि गर्नुपर्ने । यात्रुलाई छिटो गन्तव्यमा पुग्नु छ भने गाडीको मालिकलाई जसरी भएपनि धेरै पैसा । खै यो पैसाको त के कुरा गर्नु । आज गाँउघरका गरिब दुःखी हामीेले सारा जीन्दगी पैसाको लागि बन्धकी राखेर मेहेनत गर्नुपर्छ । न गाँस, न बास अनि न परिवारको साथ । पर तोक्माको आडमा भारी बिसाएर पसिना पुछ्दै गरेको भरिया दाईलाई हेरेर यस्तै विचारहरु पलाउछन् । बल्ल–बल्ल टिकट पाएको गाडी हेर्दै चढ्न नि मायालाग्दो । विचराले कसरी घुर्मीसम्म पु¥याओस् । धेरैजसो सिसापनि फुटेर प्लास्टिकले टालेको । गाडीको सिट टक्टक्याउदा सासै थुनिने गरि उड्ने धुलो । उफ् तै पनि आज सम्भव भयो भने कटारी नत्र घुर्मी नपुगी त सुखै छैन । गाडी गुड्न थाल्यो । पिच बाटो भेट्नलार्इृ कम्तिमा  घुर्मी पुग्नैपर्छ । गाडीले हजारबार पेलेर धुलो पनि कम मसिनो होइन । सास फेर्दा हावाको झोक्का सँगै भित्र छिरिहाल्छ । यो गाडी त महाखत्तम नै रहेछ । हरन पनि नबज्ने, म्यूजिक पनि नबज्ने । रातको अन्धकारले छोप्दै जादा पो थाहा भयो लाइट पनि राम्रो नबलने रहेछ । तै पनि गाडी गुडिरहेको छ । मनमने ड्राइभर दाईको प्रशंसा सबै यात्रुहरुले गरिरहेको छ । अब त घुर्मी पुग्न १ घण्टा जत्ति बाँकी होला सबैमा खुशीको लहर छ । स्कुल पढ्दा बाबा–ममी लाई धेरै ढाँटिनथयो त्यो भन्दा बढ्ता पाप गरेको त याद छैन तर आज हामीलाई भगवानले नै सरापे जस्तो छ । हाम्रो गाडीको स्टेरिङले नै काम गर्न छाड्यो । धन्न प्रभु हामीलाई सरापेर नि ज्यान चाहि जोगायौ । राम्रो ठाउँमा रोकिदिएर मात्र घुम्तिमा भइदिएको भए यो छोरासँगै सारा यात्रु एक चिहान हुने थियो । डेढ घण्टा जत्तिमा हामीलाई लिन घुर्मीदेखी खोटाङको गाडी आइपुग्यो । पूरै जुत्ता गाडिने धुलोलाई बेवास्ता गर्दै गाडीभित्र चढ्यौ । बाफ्रे ! कस्तो नयाँ गाडी । ड्राइभर दाई त्यस्तै नक्कले २०÷२२ बर्षको हुँदो हो । हामी पनि “क्याम्पस पढ्न आउने सरले उता पढाउने हामीले आँखा जुधाउने चित्त बुझाउने” बोलको गीतमा झुम्दै धुर्मी आइपुग्यौ । सबै पसल बन्द थियो । हामी पुगेपछि खोल्न थाले । खाना खाइवरी रातको १२ बजेतिर सुतियो । थाहै भएन भुसुक्कै निदाएछु ।
          सबै यात्रु विहानको बसको टिकट धमाधम किनिराछन् । हामी भने अलि अल्छेको ग्रुप परेछौ । भर्खरै व्युझिराछौ । टिकट काउन्टरमा गएर सोधेको त सबै सिट प्याक भइसकेछ । विजोग हुने भयो । अर्काे गाडीमा जाँउ भने कटारीको बास । फेरी आज जसरी भएपनि धरान पुग्नुपर्ने । हामीपनि ५÷७ जना उभिएर भए पनि जानेसुरले बस भित्र छिर्न थाल्यौ । विहानीको मधुरो प्रकाशलाई चिर्र्दै गाडी गुड्न थाल्यो । करिब १ घण्टाजति गुडेपछि हामीलाई छतमा लाने कुरा भयो । बाफ्रे छतमा पहिलोचोटी बसेको भिर–पहरा तिर अत्यधिक डर लागेपनि सबै साथीहरुलाई हेर्दै आफुलाई सम्हाले । जत्ति नै डरलागे पनि चारैतिर देख्न पाइने ठाउँ कहाँ भित्र कोची–कोची उभिएर यात्रा गर्नु । साथीहरु पनि भि.आई.पि सिट भन्दै ठट्टा गर्न थाले । दिउसो २ बजेतिर कटारी पुगियो । फेरी, कटारीदेखि अर्काे टिकट लिनुपर्ने रहेछ । सँगैका साथी प्रताप झापा जाने अनि म धरानसम्म मात्र । झापा जानलाई काँकडभित्ताको गाडी चढ्नु पर्दाे रहेछ । हुन त इटहरीदेखि अर्काे बस चेन्ज गर्दा पनि हुने तर बढी झन्झट । त्यसैले, हामी छुट्टियौ ।
          अब भने छुट्टै संसारको महसुस गरिरहेको छु । पहाडको जस्तो घुम्ति बाटो अनि डाँडाकाँडा देख्न नपाइने । जहाँ हेरेपनि सम्म परेको मैदान मात्र । पहाडमा स्कुलमा भलिबल खेल्नलाई अट्ने राम्रो मैदान सम्म हुँदैन । यहाँभने .... । गर्मीले आफ्नो अगाडीको पूरै गाडीको सिसा खुल्लै राखेको छु । सँगैको सिटको मधिसे दाईले बन्द गर्न लगाउदा हल्का रिस उठिराछ । सोलुखुम्बुको हिमालको काखबाट एकचोटी झरेको मैले तराईको गर्मी कसरी थेग्नु । अब त उसलाई पनि दिक्क लाग्यो होला झ्याल बन्द गर्न नि लगाउदैन । कहिकतै टाढा–टाढा हल्का आँखाले राम्रोसँग ठम्याउनै नसकिने पहाडरु देखिन्छन् । गर्मीेले आइमाई, केटाकेटी, बुढाबुढी सबैले पातलो लुगा लगाएको देख्दा पनि कस्ता उत्ताउला विचारहरु मनमा आउदोरहेछ । गर्मीले होला सायद हावा छिर्नेगरी बाँसको कप्टेरो जोडेर बनाइएको स–साना घरहरु अनि दाउराको रुपमा गाईबस्तुको गोबर सुकाएर बनाएको गँुइठा देख्दा बडो अचम्म लागेको थियो । इन्डियाका डाकहरु आएर सिमानाका यि हाम्रा नेपाली दाजुभाईहरुलाई दिइने यातना रेडियो, पत्रपत्रिकामा सुन्न अनि हेर्न पाइन्थ्यो । ति कुरा झल्झली मेरो दिमागमा घुमिरहेको छ । कताकता दयाका छालहरु म्नमा उर्लेर आउछन् । बर्षामा बाढी आउने अनि हिउदमा पानी सुक्दा सयौ–हजारौ मिटर टाढा–टाढा सम्म बालुवै–बालुवा मात्र बाँकी जमिनहरु अनि बेगले हुरी चल्दा बालुवामिश्रित धुलो भित्र यात्रा गर्दा मरोभूमिमा बनाइएको इङलिस फिल्मको पात्र जस्तै लागिराछ । फरक यति मात्र कि मरोभूमि धेरै ठुलो र बाह्रै महिना रहन्छ भने यहाँका मरोभूमि सरह जमिनहरु हिउदमात्र । गाडी एकतमासले कुदिरहेको छ । पहाडको जस्तो होइन । बाटो फराकिलो अनि स्ट्रेट भएकोले होला धेरै स्पिडमा सवारीसाधन चलाउदारहेछन् । त्यसैले त दुर्घटना हुँदा तराईमा सबै मर्दा रहेछन् । सम्म मैदानमा जताततै तोरीको हरियो लहर देख्दा मन अनायासै फुरुङ्ग हुन पुग्दोरहेछ । यत्ति सुन्दर ठाउँ त मेरो कल्पना भन्दा बाहिरको कुरा थियो । आहा ! अधिकांश नेपाली जनताले सुनेको सप्तकोशी नदी अनि सप्तकोशी पुल । धरानको बाटोमा यहाँ पुग्छु भन्ने कुरा मैले एकरत्ति नि सोचेको थिइन । यत्ति ठुलो नदी बाफ्रे । झ्यालको छेउमा रहेकोले ५२ वटा ढोका गन्न पनि भ्याइयो । खासमा ५६ वटा ढोका भए पनि ५२ ढोकाको नामले चिनिएको रहेछ सप्तकोशी पुल । यहि नदीको बाँध इन्डियाले बन्द गरिदिदा तराई डुबान भएको घटना १ बर्षअगाडी मात्रको कुरा हो प्रचण्ड प्रधानमन्त्री हुँदा । हाम्रै नदीबाट इन्डियाले सारा सिँचाई गरेको छ रे । विजुली निकालेर लगेको त धेरै ठाउँबाट होे । हाम्रो प्राकृतिक श्रोत साधन बेच्ने नेपाली नेता अनि सधै अरुको कुभलो चाहने इन्डियाका सरकार सबैलाई त गोलीले भुट्नुपर्ने । तर म आफैले त राम्रोसँग बन्दुक हेरेको पनि छैन । सेनाको काँधमा देखेको बाहेक ।
          अब भने धरान आइपुग्नै आट्यो रे । पूर्व विराटनगर, काँकडभित्ता , झापा जानेहरु इटहरीमै झर्न थाले । करिब २० मिनेटपछि धरानको भानुचोकमा बस रोकियो । सबै आ–आफ्नो बाटो लागे । कोहीको आफन्तहरु आएर बस स्टेशनमै कुरिरहेका थिए । म भने विलकुलै नौलो । मेरो कोही थिएन । सुनेको थिए धरान लाहुरेहरुको बस्ती हो । तर बसदेखि झर्ने वित्तिकै २÷३ जना पल्टने झोला भिरेका मान्छेहरु देख्दा भने पक्का विश्वास भयो । ७५% भन्दा बढी मान्छेहरु लाहुरे छन् रे । यो पनि त्यहीको एकजना होटलको वेटरले सुनाएको । अर्काे कुरा फेशन मा त नेपालकै टप धरानेहरु । मलिलो ठाउँमा रोपेको केटाकेटी के–के दलेर रबरको गुडिया जस्तो भएर हिड्दारहेछन् । विशेष लेडिजहरु धेरै मकअप गरेर हिड्दारहेछन् । बाहिर टाइपिटिङ भित्र जुम्राको मिटिङ त पक्कै छैनन् नै होला । राम्रा–राम्रा कलेजमा पढ्दाहुन् । सबै यस्तै हुन्छन् भन्नु मेरो गलत सोच रहेछ । साँढे ३ घण्टामा धरानदेखि धनकुटा पुगिन्छ भन्दै सबै मान्छेहरु धनकुटाको गाडी चढेको देखेर मैले नि आजै धनकुटा जाने सुरले टिकट काउन्टर तिर गएँ । टिकट लिएँ । सबै मान्छेको परिस्थिति अनुसार फरक विशेषता । मलाई नौलो देखेर टिकट को पैसा २० रुपँैया बढी लिएको रहेछ । सायद २० रुपैँया मा म सँग अन्याय गरेर उ धेरै धनी भयो होला । धरान धेरै सफा र सुन्दर शहर रहेछ । देखिहालियो यस्तै सोच्दै धनकुटाको गाडी चढें । अहिले पनि झ्यालछेउमै परियो । बसमा बसेको ४५ मिनेट बितिसक्यो । बस छिटो गुड्ने छाँट देखिदैन । झ्यालमा बसेर राम्रा–नराम्रा सबै दृश्यहरु ीनयालिरहेको छु । विशेषगरी फेशन । यत्तिकैमा दिदीभाई हुनुपर्छ , दिदी १६÷१७ बर्षको हुँदो हो भाई भने सानो फुच्चे । मैले यो सब हेरिरहेको छु । भाईले आइस्क्रिम खान खोजेर हुनुपर्छ, म बसेकै गाडीको साइडमा आइस्क्रिम खानलाई आएको थियो । आइस्क्रिमको दाम सोध्दा १५ रुपैँया, तर त्यत्ति राम्री स्वर्गकी अप्सरा जस्ती मान्छेको पर्समा १० रुपैँया सिवाय केही थिएन । उसले पर्स खोलेर पैसा गनेको पनि देखिरहेको छु । किनकी गाडीको झ्यालको मुनि थिई । अनि भाईलाई तानेर त्यत्तिकै बहाना गर्दै तयार भइसकेको आइस्क्रिम छाडेर सायद कतै डुलिरहेका होलान् विना योजना । यो देखेर मलाई बडो दुःख लाग्यो । गाउँठाउँबाट उच्च शिक्षाका लागि हजारौ–लाखौ सपना लिएर धरान छिर्छन् । धनीका छोराछोरी चिटिक्क ठाँटिएर हिँडेको देख्दा उनीहरु प्नि त्यस्तै बन्न चाहन्छन् । जीन्दगीमा कहिल्यै काम नगरेका धनीका छोराछोरी कहाँ दिनदिनै घाँसदाउरा अनि माटाको डल्ला फुटाउदै रगडिएका शरिर । न त राम्रोसँग कलेजका पढाई सिध्याउछन् । न त धनीका छोराछोरी जस्तै राम्रा–राम्री भएर हिड्नलाई खर्च नै जुटाउन सक्छन् । फोकटमा भविष्य विगारिरहेछन् । राम्रो भएर हिडेर मात्र के गर्नु । सुको पढ्नलाई मेहेन गर्ने होइन । धेरै यस्ता साथीहरु देखियो त्यसैले मनमनै ठोकुवा गरेको ।
          नागवेली बाटो हुँदै धनकुटाको लागि गाडीले भेडेटारको पहाड चढ्न थाल्यो । पहाडको बाटो धेरै फराकिलो अनि राम्रो रहेछ । नेपालकै टप रोड अरे व्रिटिश सरकारले बनाइदिएको । टेन्डर–सेन्डर नलडी उ आफैले बनाएको रे । रोड हेर्दा पत्यार लाग्दो नै छ । आहा ! मेरो जस्तै १ चोटी भेडेटार पुग्ने चाहना सबैको हुँदो हो । आज पूरा हुँदै गर्दाको खुशी कहाँ बयान गर्न सकिन्छ र । अलिकति गाडी रोकियो । धेरै राम्रो ठाउँ रहेछ । भिउ टावर पनि हेरियो । त्यहाँबाट धरान पनि हेरियो । भेडेटार पूरै पहाडै रहेछ । तलतिर लमतन्न सुतेको पूर्वकै टप अनि सुन्दर धरान शहर । कति मनमोहक छ । चारैतिर गोलाकारमा सडकले घेरिएको वस्ती भेडेटार । धरानको गर्मीबाट थोरै भएपनि मुक्ति पाउन त्यहाँका मान्छेहरु भेडेटार सम्म चढ्दा रहेछन् । 
          भेडेटारदेखि २ वटा रोडको बाटो छुट्टिने रहेछ । एउटा धनकुटातिर अर्को राजारानी जाने ठाउँ रे । पहिले बाइसे–चौबिसे राज्य हुँदा राजारानी बसेको ठाउँ भएर अहिले ठाउँको नाम नै राजारानी भएको रे । हाम्रो गाडी धनकुटातिर वेगले गुडिरहेको छ । बस लेगुवासम्म जाने रहेछ । म लगायत २÷३ जना धनकुटामा ओल्र्याै । म सँगै झर्ने ३ जना बहिनीहरु आफ्नो घरतिर होला हिडिहाले । म भने रोडमा लाटो झै ठिङ्ग उभिएर अल्मलिराछु । रातको ८ बज्नै लाग्यो । सबै पसल बन्द छ । न त मलाई गेष्ट हाउस नै थाहा छ । पर एउटा ग्यारेज खुल्लै रहेछ । गएर त्यहाँको दाईलाई सोधेको एउटा होटेलको लोकेसन दिनुभयो । होटलमा बास पनि पाइयो । होटलको नाम तरेवा गेष्ट हाउस । भर्खरै खोलेको होटल भए पनि व्यवस्था राम्रै थियो । तर अत्यधिक महङ्गो । एउटा सिङ्गल बेड भएको रुम को धनकुटाजस्तो ठाउँमा ८००÷– लिनु धेरै महङ्गो रे । म विद्यार्थी मान्छे । आज तिरेपनि भोली पक्कै पैसा हुँदैन । त्यसैले पैसाको मामिलामा अलि होसियार नै रहनुपर्छ । सोलुको ठण्डीमा साँचेको मैलो धनकुटामा पखालियो । आराम गर्ने भनेको त भुसुक्कै निदाएछु । रातको १२ बजे व्यूझेर बासी भात खाएँ । र आनन्दले सुते । म बसेको होटल बजारभन्दा अलि तल रहेछ । विहान उठेर चिया खाइवरी पेयमेन्ट गरे । र बजारतिर हिँडे । धनकुटा पनि पहाडै रहेछ । तर बजार भने सफा देखिन्थ्यो । धनकुटामा पनि पैसा भयो भने लगभग सबै सामान किन्न पाइने रहेछ । एउटा होटलमा रुम लिएँ । झोला त्यही राखेर साइबर तिर लागे । इमेल चेक नगरेको पनि धेरै भएको थियो । खाना खाएर आफ्नो अनि साथीहरुको सबै डकुमेन्ट मिलाउन तिर लागे ।
          लोकसेवा आयोगको कार्यालय सम्म जाने गाडी कुरिरहेको छु बस स्टेशनमा । बल्ल गाडी आयो । त्यहाँसम्म जाने धेरै मान्छेहरु थिए । ओर्लेर फर्म बुझाउन हिडेको, कमिलाको ताँतीभन्दा कम थिएनन् मान्छेहरु । २०÷३० जनाको कोटा होला जम्मा । अनि आवेदकहरु भने हजारौ । नेपालमा बेरोजगारी धेरै छन् भनेको सुनियो, तथ्यांङ्क पढियो तर प्रत्यक्ष आज आफ्नै आँखाले देखिरहेको छु । नेपाली शिक्षित युवाहरुले कत्ति दुःख गर्नुपरेको छ १०÷१२ हजारको जागिरको लागि । पढ्ने बेलासम्ममा लाखौ खर्च भइसक्यो । तैपनि रोजिरोटीको व्यवस्था छैन । बाटोमा एकहुल शिक्षकहरुको जुलुस छ पूरै रोड जाम हुनेगरी । दरबन्दी कटौती भएकोले जागिर बचाउनलाई यत्रो गरेको जुलुस रे । फेरी पाइसकेकाहरुको यो हालत देख्दा जागिर खाने मन पनि हररर भएर आउछ । आवेदकहरुले फर्म को बुझाएको पैसाले नै भिडेर जागिर पाउनेहरुलाई ३० बर्ष तलव खुवाउन पुग्दो हो । खै कत्ति मनको बह पोख्नु । भोली त धनकुटालाई पनि छाडेर काठमाण्डौंको बाटो लाग्नुपर्छ । काठमाण्डौंमा रहेको भाई र बहिनीलाइृ भेट्न अनि बर्षमा २०÷२५ दिन टेकिने कलेजको हालखबर बुझ्न ।
          विहानको सुनसान, शितल अनि सफा मौसम । आज धनकुटालाई पनि छाडेर जादैछु । के गर्ने जीन्दगी यस्तै यात्रा न रहेछ । आज यहाँ, भोली त्यहाँ, पर्सी कहाँ । लक्ष्यमा पुग्नलाई संघर्षको भुमरीमा रुमलिदै कहाँ एक ठाउँ मात्र बसिरहन त सम्भव हुँदो रहेछ र । म बसेको होटलमा पेयमेन्ट गरे र विदा लिदैछु ।
          धनकुटा बस स्टेशन बाट धरान जाने गाडी कुरेको पनि आधा घण्टा जत्ति भइसक्यो । बल्ल माइक्रो आयो र लामो सास फेर्न पाइयो । उफ् यस्तो गर्मीमा पनि खलासीले कत्तिसम्म यात्रुहरु कोच्न सक्या होला । आज भने धरान झरेर सबै शहर घुम्ने विचार गर्दैछु । गाडीले धरानको लागि यात्रा लिन थाल्यो । गाडी आफ्नै सुरमा कुदिरहेको छ । सँगैको हिन्दी गीतले भने टाउको दुख्ला जस्तो भइराछ । के गर्ने आफु त लोक, आधुनिक गीतहरुमा झुम्ने मान्छ े । न हिन्दी बुझ्नु । कम्तिमा लय चाहि राम्रो भइदिए पनि हुने । भेडेटारदखि धरान झर्दाको घुम्ति यात्राहरु त म जीन्दगीभर भुल्दिन । बसमा धेरै कोचाकोच छ । सान िफुच्चिलाई काखमा राखेर यात्रा गर्दै गर्दा कता–कता फेरी मेरो प्यारो बहिनी चाँदनीको यादले सताइराछ ।
          धरान बस स्टेशन (भानुचोक) आइपुगियो । सबै यात्रुहरु बसदेखि ओर्लन थाले । माइक्रोदेखि झर्न नपाउदै काठमाण्डौंको टिकट हातमै लिएर कराउदै छन् काठमाण्डौं .... काठमाण्डौं । मैले पनि इशारा गरेर सोधेको मात्र थिए तानेर पो लान थाल्यो । उफ् भर्खर गाडीबाट ओर्लेको । अलि–अलि रिंगटा पनि चलिराथ्यो । त्यही माथि एउटा टिकट बेच्नलाई काउण्टरको त्यो दाईले नानाथरी भनेर फकाउन सम्म पछि परेन । मैले सबैतिर बुझेर मात्र किन्ने कुरा गर्दा विश्वासको लागि टिकट लिने तर बस चढ्ने बेलामा मात्र पैसा तिरेपनि हुन्छ भन्दा मेरो कन्सिरी तातिसकेको थियो । म एकजना यात्रुको खोसाखोस भयो त्यहाँ । अलिकतिले मात्र झगडा परेन । यो सब तरिका हेर्दा बडो घृणा लागेर आउँछ । यी फोहोरी चालले सुन्दर नगरी धरानलाई कुरुप बनाइरहेको भान हुन्छ । बल्ल टिकट लिएँ । गाडी भने बेलुका ४ः३० बजे मात्र छुट्ने रहेछ । आम्मै ! घडी हेरेको त दिउसोको  भर्खर ११ मात्र बजिराछ । के गर्ने घुम्नलाई चिनेको ठाउँ पनि छैन । बडो दिक्क लागिराछ । धेरै मान्छेहरु रिक्सामा चढेर हिंडेको देख्दा मलाई पनि रहर पलाएर आयो । नजिकको रिक्सा चालकलाई सोधेको धान शहर एक–एक घुमाइदिन्छु भनेर गफ लाएको सुन्दा पनि मनमनै हाँसो उठ्छ । किनकी रिक्साले उकालो चढ्दैन भन्ने कुरा मलाई थाहा नभएको होइन ।
          रिक्सामा बसेर धरान शहर घुम्दैछु । बडो गजबको शहर रहेछ । सफा, व्यवस्थित अनि अति सुन्दर लाग्यो मलाई । बिच–बिचको गल्ली अनि घरवरिपरी सजाएको बगैंचा देख्दै मन एकोहोरो रमाउन पुग्दो रहेछ । चिहान हेर्दा लाग्छ यहाँका मानिसहरु साँच्चिकै धेरै धनी छन् । गाउँघरमा मरेको लासलाई पुरिदिने कामसम्म धन्न गरिन्छ । यहाँ भने चिहानमा लिपी कँुदेर, सजाएर अजम्बरी बनाइने कोशिस गरिदो रहेछ । यस्तो सुन्दर र राम्रो चिहान कुनै फिल्ममा देखेको मात्र । हुन त सबैले त कहाँ सक्दो हो र यसरी । धरान पूरै फन्को घुमियो । विशेषगरी यलम्बर पार्कलाई सम्झिराछु । पहिलेको हाम्रो किराँती राजा जसलाई मारेर अवशेष सम्म राखेनन् साले नाक चुच्चेहरुले । म अहिलेको पुस्तालाई नराम्रो भन्न खोजेको होइन । गाली त पृथ्वीनारायण शाहलाई गरिराछु । राष्ट्रिय विभुति भनेर कसैले पुजा गर्दैगर्दा अर्काेतिर मुर्ति भत्काउने, डढाउने अवस्था त्यत्तिकै सिर्जना भएका पक्का रहेनछ । जात र वर्णको विभेदल हाम्रो आँखै अगाडी देश टुक्रिने अवस्था आउदैछ । सायद यलम्बरको मुर्ति देखेको यो नै पहिलोचोटी हो मेरा लागि । भित्र पनि किँरातीहरुकै लास कुँदिएको, अनि साकेला थान लगायतका किँरातीहरुकै सम्पूर्ण लगानीमा व्यवस्थित पार्क निर्माण भएको देख्दा कता–कता गर्वले छाती ढक्क फुल्छ । जत्ति नै समानताका कुरा गरेपनि विभेदको दुनियाँमा हुर्केको भएर होला आफ्नो पुस्ता अलि बढी नै प्यारो लाग्दोरहेछ । ३ घण्टापछि पूरै घुमेर बस स्टेशन आइपुगियो । धरानमा बुढासुब्बा मन्दिर घुम्न नपाएकोमा अलि खल्लो महसुस गरिराछु । ठीकै छ अर्काे चोटी पनि मौका मिल्यो भने पक्कै आइन्छ नै होला । धरान धेरै व्यस्त शहर जस्तो लाग्छ । रोडभन्ला पारीपट्टिको धरान घण्टाघरले शहरको शोभा अझ बढाएको प्रष्ट देखिन्छ । म भने अबका काठमाण्डौं यात्राको कल्पनासँगै होहल्लाको माझमा एक होटलको कौसीमा बसेर यो सब लेखिरहेको छु ।

Tuesday, July 3, 2012

अतितको डायरी


           बैसाख महिना । बसन्त ऋतुको आगमनसँगै नयाँ पालुवाहरु पलाउछन् । फुलमा कोपिलाहरु टुसाउन थाल्छन् । धर्तीमा नयाँ सौरभहरु मग्मगाउछन् । हरियालीको स्वागत गर्न पाउदा कोइली चरी खुशीले आफ्नै विरहका भाकाहरु अनकन्टार वसन्ती वहारभित्र गाइरहेका छन् । त्यही विरहका गीतहरुमा हराउदै कस्तुरी र मृग ब्रुक्क–ब्रुक्क उफ्रदै नाचिरहेका छन् । मयुरको नाचले त जोकोहीलाई पनि मन्त्रमुग्ध बनाएरै छाड्छ ।
          डाँडापाखा, पाखापखेरो अनि कुना–कन्दरा जताततै हरियो छ । वेशितिर ढकमक्क फुलेको लालीगुराँसले हरिया जंगललाई कुनै असल चित्रकारले भरेको बुट्टाजस्तो बनाइदिएको छ । अनि, लेकतिर चिमाल, चाँप फुलेर सेतै छन् । यो समय सबै रुखपातहरु प्रकृतिलाई मनोरम बनाउन प्रतिष्प्रधामा छन् ।
           वातावरण साँच्चै रमाइलो छ । अमरपुरको एकटुक्रा नै टक्रुक्क खसालिदिएका हुन् कि प्रकृतिका सृष्टिकर्ताले भन्ने महसुस हुन्छ । यहाँ जो कोही पुगेपनि अनन्तकालसम्म बसिरहने अनि यि बसन्तकुसुमहरुसँगै आफ्ना मनभित्र डढेलोको आगो झै सल्किरहेका अन्तजर््वालाहरुलाई शान्त पार्ने चाहनाको लोभ नगर्ने सायदै होला । यहि रमणियताको फाइदा लिइरहेको छु र त अनायासै मसि छरपष्टिन्छ यसरी .......
           जीन्दगी आफुले चाहेजसरी एकनाशले त कहाँ जिउन सकिदोरहेछ र । राम्रा–नराम्रा विचित्र दुनियाँमा जन्मेपछि सकेसम्म बढीभन्दा बढी राम्रै कुरा सिक्नलाई कोशिस गरिरहन्छौ । समयको अनवरत वेगसँगै कोल्टे फेर्दै–फेर्दै जीवनका सयौ उतारचढावको माझमा परिवर्तन, विकास, प्रतिष्ठाका लागि लडिरहेका हुन्छौ रणमैदानमा । तै पनि खै अहिलेसम्म व्यवहारमा लागु गरेर चमत्कारै भएको त थाहा छैन । तै पनि आशाको त्यान्द्रो झन्–झन् लम्बिरहेको छ अनन्त क्षितिजसम्म सुन्दर गगनवाटिका को कल्पनामा चुर्लुम्म डुबेर । जीवन काँडैकाडाँको माझमा फुलेको सुन्दर गुलाफ हो भन्ने कुरामा मेरो कुनै आपत्ति छैन । दुःख, पिडा अनि संवेदना विना वास्तविक जिवन जिउनुको आनन्द महसुस गर्न सकिदैन भन्ने कुरा थाहा नभएको पनि होइन । तर खै कसरी कत्ति फल लिन सकिने हो आफ्नो लागि अनि कत्ति कुरा दिन सकिने हो राष्ट्रका लागि । लक्ष्य र यात्रा फरक–फरक भएर जिउनुको पिडा शब्दमार्फत पुष्टि गर्ने क्षमता ममा छैन । बाबाममीको आशिर्वाद, गलाभरि माला, सुन्दर भएर पनि राष्ट्रका नजरमा नपरेका कुरुप वस्ती, शब्दहीन टोलाइरहेका साथीसँगीका ति निर्दाेष नयन सबै–सबैलाई छाडेर थालिएको यात्रा कहाँ पुगेर टुंगिने हो थाहा छैन । काठमाण्डौ शहर भित्र अत्यासलाग्दो जंजिरले बाँधिएको जीवनलिला । स्वतन्त्र दुनियाँमा रम्ने कसम खाँदै मध्यरातमा कोरेका लक्ष्यहरुलाई भुलेको पनि कदापी होइन । तै पनि त्यसै–त्यसै समय वितिरहेछ । कता–कता मन पिडाले छट्पटाइराछ बस ! मलम भइदिने एउटै मेरो साथी अनि सहारा कलम निरन्तर लेखिरहन्छ ....
          प्रत्येक विहानीसँगै जीवनका नयाँ दिनहरुको शुरुवात हुन्छ । प्रभातको मिर्मिरे उषासँगै गन्तव्यस्थानसम्म पुग्नका लागि जीन्दगीका एक–एक पाइलाहरु अघि बढ्छन् ।
इस्पातिला ति बाटोहरु
गगनस्पर्शी उकालीहरु
कहि उराठिला ति घुम्तिहरु
अघोर ति अग्निपरिक्षा पार गर्न
जन्म दिने आमालाई लत्याएर
मलाई डो¥याउदै हिड्न सिकाउने
ति गोरेटोहरु
हाँस्न, नाँच्न र बाँच्न सिकाउने
ति,
पाखापखेरो, खोलानाला अनि,
छाँगा–छहराको यादमा तड्पदै
अगम्य यात्रा .....


टुसाएका कोपिलाहरु बसन्तसँगै फक्रिएर अन्ततः ओइलिएर झरेसरी जीवन एउटा रंगमञ्च रहेछ । चाँदनीको फिका छाँयाभित्र पवनको शुष्क–शुष्क सुसाइसँगै वहिरहने अनिश्चित जीन्दगी कहाँ पुगेर ठोकिने हो थाहा छैन अकालकुसुमसरी अतितका ति
अधुरा पानाहरुलाई तिलाञ्जली दिएर
पूर्व क्षितिजबाट चम्किला तारा
उदाउने आशामा
इहलिलालाई बन्धकी राखेर
समर्पित हातहरु फिँजाई
संघर्षको रणभुमिमा लडिरहेछु ।
प्रकृतिका अनमोल उपहार
बोधशुन्यताको निर्मम हत्या गरिदा
आफ्नो अस्मिता जोगाउन नसकेर
अन्र्तहृदयदेखि निस्केको क्रन्दन
आँशुसँगै वगिरहेको त्यो वेदना
देख्ने आँखा छैन यो संसारमा ।
कहालीलाग्दो समयको चक्रव्यूभित्र
रुमलिएर मुटुको भित्रि कुनाबाट
निस्केका निर्मम भावनाहरु
स्वन्दर्य छर्ने वाटिका जस्तै
असिमित ति गोरेटाहरुमा
सारथी बनेर छरिदिदा
स्मृतिका पानाभित्र
आफ्नो स्थान
पहिल्याउन मन लाग्छ ।
कुइरोको कागसरी भौतारिरहँदा
कोमल हृदय छिया–छिया
हुँदाको त्यो पिडा
सुदुर गगनमण्डलमा रहेर सायद
अदृश्य शक्तिले मात्र
महसुस गर्न सक्छ ।
चकमन्न रातमा
टुक्रा–टुक्रा भएका सपनाहरु
खहरेको भेलसँगै बगिरहँदा
अनायासै फैलिएका तरङ्ग
अनियन्त्रित धड्कनको गतिले गर्दा
मनको तरेलीमा
सुन्दर गुलाफको फुल
छचल्किएर बनाएका डोबहरु
अधुरा ति कल्पनासँगै
बल्झिरहेछ ....
देउरालीलाई साक्षी राखी
धरणीमै नन्दन बनाउने
मेरा आकाङ्क्षाहरु
नियतिले लुटिदिदा
पानसमा दियो बालेर
अर्को जुनीको प्रार्थना गर्नु
मेरो विकल्म ....
पुनर्जीवनसँगको पुनर्मिलन
प्रगाढ मेरो संवेदनाका प्रतिक
प्रवासमा बसेर भित्रभित्रै
संचार गरिरहेछु ।
प्रातः स्मरणीय ति दिनहरु
फुलपाति चढाएर पनि पाउंदिन
ति दिनहरु सम्झेर
बलेसीको पानीसरी
आँशु बगाउदैछु ।
जीन्दगीका दर्पणभित्र
आफ्नै प्रतिबिम्ब नियालिरहँदा
बेहोशिमा जन्मिएर बाँचिरहेजस्तो
बुकी र सुनपातीसँगै
फुलेको जीवन मेरो
भुमरीले झपक्कै छोपिदिँदा
खोसिएका ति स्वतन्त्रता
कहिल्यै फुल्न नसक्ने गरी

खोसिएका ति स्वतन्त्रत
कहिल्यै फुल्न नसक्ने गरी ......